काठमाडौं असार, २४–
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफूलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् । उनले आफूलाई अपराधीलाई जस्तो छापामार शैलीमा विमानस्थलबाट प्रहरी लगाएर नियन्त्रणमा लिइएको बताए । शनिबार उनलाई क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उपकुलपति कोइरालाले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको समेत आरोप लगाए । त्यसैगरी उनले कम्युनिष्टले संस्कार र र सस्कृति मास्न लागेको आरोप समेत लगाए । उनले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो पोखे । उनले भने, ‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाइएन ।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने,‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको थिएँ, मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो, यो खेदजनक छ, यो अपमान म प्रतिमात्रै नभएर सिँगो प्राज्ञिक जगतमाथिको अपमान हो ।’
उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्र्तराष्ट्रिय फोरममा समेत विषयले नेपालको बेईज्जती भएको दुःखेसो पोखे । प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने ,‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’
यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ।’
हवल्दारी पाराले विश्वविद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे । नेपाल प्राज्ञिक संघका अध्यक्ष प्रा। रामेश्वर उपाध्यायले शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोईरालालाई पक्राउ गर्नु आपत्तिजनक र सरकारको गम्भिर भूल भएको टिप्पणी गरे ।