काठमाडौं असार, २२–
मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा कालीगण्डकी करिडोर सडकमा काम गर्ने ४ महिला र ११ जना पुरुषको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरीले जनायो ।
मृतक मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । अहिले घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली त्यसतर्फ गैरहेको छ ।