काठमाडौं असार, १९–
प्रहरीले तीन जना सट्टेबाजलाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने व्यक्ति पक्राउ परेका हुन् ।
सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकै अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ समेत बरामद गरेको । अहिले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।