काठमाडौं असार, १८– प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दा उनको मन मष्तिस्कमा समृद्धी, आर्थिक विकास र सुशासन बाहेक केही पनि छैन जस्तो लाग्छ । तर भाषणमा मात्रै शुभेच्छा राखेर हुँदैन । शान्ति समृद्धि र आर्थिक विकासका लागि मीठा भाषण मात्रै गरेर पुग्दैन । प्रधानमन्त्री केपी ओलीबाट भएको काम भन्ने हो भने मीठा भाषण र भारत चीन भ्रमण मात्रै हो ।
सरकारले नै जस लिएको सिन्डिकेट अन्त्यको कुरा कागजमा मात्रै देखिएको छ । सुन तस्करी प्रकरण त पुरानै घटनाको फलोअप मात्रै हो । अब सुशासन र आर्थिक विकासमा अगाडि बढ्न प्रधानमन्त्री ओलीले के काम गर्छन भन्ने विषय सबैले चासोका साथ हेरेका छन् । उनले अब गर्ने कामहरुमा मन्त्री हेरफेरको सम्भावना पनि एक हो ।
हालको मन्त्रिपरिषदमा कुन मन्त्रीको काम कस्तो रहेछ भन्ने त लगभग सबैले महशुस गरि नै सकेका छन् । मन्त्रीहरु मध्ये धेरैजसो मन्त्रीहरु विवादमा परेका छन् । विवादमा नपरेकाहरु गुमनाम छन् । काम भन्दा पनि राम्रो चर्चा कमाएका मन्त्रीहरुमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा बादल मात्रै हुन् ।
बाँकी सबैजसो मन्त्रीहरु थपना सरह छन् । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल मध्ये पोखरेल नै सबैभन्दा असक्षम मन्त्रीका रुपमा प्रमाणित हुने अवस्थामा छन् । किनभने यो पोखरेलको यो पाँचौ पटकको मन्त्री यात्रा हो । पटक पटक उनी शिक्षा मन्त्री नै भएका छन । सुशासनका ठूला गफ हाक्ने सरकारका यी मन्त्रीले यसपटक पनि विद्यार्थी भर्नाका क्रममा निजी शिक्षण संस्थाको लुटलाई टुलु टुल हेरि मात्रै रहे । निजी शिक्षण संस्थामा व्याप्त विकृति रोक्न मन्त्री पोखरेल पुनः असक्षम प्रमाणित भए ।
अर्थात प्रधानमन्त्री केपी ओलीले वर्षमान र गिरिराजमणि मध्ये जसलाई हटाए पनि बरबाद भयो भन्ने अवस्था छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको कार्यसम्पादन औसत रहेको धेरैले महशुस गरेका छन् । परराष्ट्र मन्त्रीले कुटनीतिक सम्बन्धलाई मजबुत बनाउनु पर्ने दायित्व हुन्छ । यो भूमिका उनले कसरी निर्वाह गर्छन् आगमी दिनले पनि देखाउनेछ ।
आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र यातायात मन्त्री रघुवीर महासेठ दुवै जना चर्चामा छन् । चर्चित भए पनि उनीहरु लोकप्रिय भने छैनन् । सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउन यातायात मन्त्री महासेठले असहयोग नै गरेको धेरैले महशुस गरे । सिन्डिकेट विरुद्धको अभियानमा इमानपूर्वक खटिएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्री महासेठले कारबाही जस्तै गरी सरुवा गरिदिए । मन्त्री महासेठको चौतर्फी आलोचना भएपछि उनले भट्टराईलाई फेरि विभागमै फर्काए । यी घटनाबाट महासेठको लोकप्रियतामा पूर्णबिराम लाग्यो ।
आपूर्तिमन्त्री मातृका यादव पहिले वन मन्त्री हुँदा खुब चर्चा कमाए । धेरथोर लोकप्रियता पनि हाँसिल गरे । तर आपूर्तिमन्त्रालय अन्तगर्तको उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई यिनैले सरुवा गरेर धपाए । दाहालले विभिन्न निजी विद्यालय र अस्पतालहरुमाथि कारबाही गर्न खोज्दा मन्त्री यादवले रोकेको खबर बाहिरियो । यादवले अनुगमन नै रोकेर आपूर्ति मन्त्रालयलाइ अनौठो अड्डामा रुपान्तरण गरेका छन् । कम्युनिष्ट नेता यादवको सम्पत्ति विवरणले पनि धेरैको ध्यान तान्यो । उनी अपेक्षा गरेभन्दा धेरै सम्पत्ति भएका मन्त्री रहेको विवरणले मानिसहरु छक्क परे ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका बारे त केही टिप्पणी गर्न नै आवश्यक रहेन । अघिल्लो पटक ऊर्जामन्त्री हुँदा उनले गरेका काम भन्नु नै स्टन्टबाजी र केही पत्रकारलाई प्रभावमा पारेर बखान गर्न लगाएको जस्तो मात्रै देखियो । वैदेशिक रोजगारीमा गएकाहरुको अवस्था भयावह छ । तर यी मन्त्रीले आफ्नो क्षेत्रमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ बाहेक अरु कोही खलनायक छैनन भने झै उनकै मात्र पछि लागेका छन् ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि अर्का गुमनाम मन्त्री हुन् । अघिल्लो पटक गृहमन्त्री भइसकेका बस्नेत अहिलेको सरकारमा जागिर खाने शैलीमा तल्लो वरियता स्वीकार गरेर प्रवेश गरे । गृहमन्त्री हुँदै निरीह देखिएका बस्नेत वनमन्त्री भए भन्ने खबर बाहिरिँदा कसैले पनि उनीबाट केही आशा गरेका थिएनन् । यसकारण यी मन्त्री पनि हटाइन सक्नेको सूचीमा छन भन्न सकिन्छ ।
धेरै चर्चामा रहेका अर्का मन्त्री हुन सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डीत । लालबाबु मन्त्री भएपछि उनलाई शुभकामना दिन को पुगेनन् होला र ? तर पण्डीतले जब कर्मचारीलाई थाङने भने अनि उनको सम्पत्ति विवरणमा ६० लाख देखियो । उनका बारेमा अनेक टिकाटीप्पणी सुरु भयो । अहिले उनको लोकप्रियताको ग्राफ तल झरेको छ । यसो भन्दैमा उनको सम्पत्ति अबैध वा गलत काम गरेर आर्जन गरेको भनेर कसैले पनि भन्न सकेको छैन ।
महिला बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा थपना सरह छिन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार पनि निष्क्रिय नै छन् ।
आफ्नो छाता र कोट समेत अंगरक्षकलाई बोकाएर हिँडेको देखिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि आलोचनाको सिकार भएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको त मन्त्रालय नै चर्चामा नआउने प्रकृतिको हो भन्ने गरिन्छ । जसका कारण उनी खासै कसैको निशानामा परेका छैनन् ।
मन्त्रीहरु परिवर्तनका लागि ठोस काम गर्ने भन्दा सस्तो लोकप्रियताका लागि काम गर्छन भन्ने कृषिमन्त्री चक्रपाणि खनालबाट पनि पुष्टि भयो । कारबाही पनि नहुने र कुनै टुंगोमा पनि नपुग्ने गरी उनले डेरी उद्योगहरुको अनुगमन गरे । सञ्चारमाध्यमहरुमा चर्चा पनि बटुले । तर त्यसको कुनै अर्थ रहेनछ भन्ने व्यवहारबाटै प्रमाणित भयो । मन्त्री खनाल पनि चटकी नै रहेछन् जस्तो देखियो ।
खानपानी मन्त्री बिना मगरेको एक मात्रै एजेन्डा दशै अगाडि उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भन्ने थियो । मेलम्ची दशैअगाडि नआउने भएपछि अहिले उनी एजेन्डाबिहीन मन्त्री बनेकी छन् । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएका कारण उनको पदमा कुनै अनिष्टको बादल मडारिन पाउने छैन ।
राज्यमन्त्रीबाट फूलमन्त्री पाएका सञ्चारमन्त्री गोकुल बास्कोटाको अभिमान र उदण्ड स्वभाव नेपाल टेलिभिजनकै सीधा प्रश्न नामक अन्तर्वार्तामा बाहिरियो । मन्त्री बास्कोटा वर्तमान मन्त्री मण्डलका अलोकप्रिय मध्येका एक हुन भन्दा फरक नपर्ला । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।