शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

बुधबार, असार ६ २०८०

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो बिमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् ।

दक्षिण एसियामा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन् । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।