काठमाडौं असार, १०–
भारतीय नम्बर प्लेटको मालबाहक ट्रकमार्फत चरेश तस्करी गर्दै आएका एकजना पक्राउ परेका छन् । मालबाहक ट्रकमा फल्स बटम बनाएर चरेश तस्करी गर्ने मेराज आलम पक्राउ परेका हुन् ।
उनी काठमाडौंको कलंकीबाट शनिवार बिहान पक्राउ परेको प्रहरीले जनाएको छ । आलमको साथबाट लागु औषध नियन्त्रण ब्युरोले २१३ किलो चरेश र साढे २ किलो अफिम बरामद गरेको प्रहरीको भनाई छ ।
भारत मोतिहारी जिल्ला मोखिलिशपुर–९ स्थायी घर भएका आलम भारतीय ‘डब्लु बि २३ बि५८८५’ नम्बरको ट्रक आफैं चलाएर काठमाडौं आईपुगेका थिए । उनी चरेश तस्करी समूहको महत्वपूर्ण सदस्य हुनसक्ने प्रहरीको अनुमान छ । प्रारम्भिक अनुसन्धानका क्रममा आलम भरिया मात्रै हुन् होईन भन्ने देखिएको तथा उनी उक्त समूहको महत्वपूर्ण सदस्य रहेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको बारे थप अनुसन्धान भैरहेको छ ।
ब्युरोको लामो निगरानी पछि ठुलो परिणामको चरेशसहित पक्राउ परेका आलमले मकै लोड गरिएको ट्रकमा फल्सबटम बनाएर चरेश ल्याएका थिए । धादिङ अथवा मकवानपुरको माथिल्लो भागमा बनाईएको उक्त चरेश नेपालको सुनौली नाकाबाट गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागिएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका आलमले उक्त चरेश शुरक्षा निकायको आँखा छल्नका लागी काठमाडौंमा ट्रान्जिट बनाएर दिल्ली लैजान लागेको प्रहरी समक्ष बयान दिएका छन् । आलमले यसभन्दा पहिले पनी पटक–पटक उक्त ट्रकको प्रयोग गरेर अफिम तथा चरेशको ओसार–पसार गर्ने गरेको बताइएको छ ।