काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा बिहीबार पक्राउ परेका छन्। प्रहरीले बिहीबारै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि नियन्त्रणमा लिएको छ। यससँगै अनुसन्धानका लागि समातिएकाको संख्या १६ पुगेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको एसएसपी दानबहादुर कार्की बताउँछन् । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
उक्त प्रकरणमा रिजाल र मियाँको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार मियाँलाई सिंहदरबार परिसर र रिजाललाई त्रिभुवन विमानस्थलको आगमन कक्षबाट नियन्त्रणमा लिइएको हो। परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार रिजाल झापाबाट काठमाडौं आउँदै थिए। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नजिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद मिलान गरिएको प्रहरीले जनाएको छ।
नेपालमा लामो समयदेखि बसोबास गरिरहेका नेता रिजाल भुटानी शरणार्थीको हक र अधिकारको क्षेत्रमा क्रियाशील थिए। शरणार्थीको तेस्रो देश पुनस्र्थापनामा उनले पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए। उनले छुटेका ६ हजार ५ सय शरणार्थीलाई अमेरिका लैजान पहल गरिरहेका थिए। त्यस सम्बन्धमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गरी कार्यदल बनाएका थिए। त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो।
गिरोहले पैसा उठाएको थाहा पाएपछि रिजालले विभिन्न दलका नेतालाई खबर पनि गरेका जनाइएको छ। उनले यस विषयमा सरकारको ध्यानार्कषण गराएका थिए। तर, उनी पनि आर्थिक लेनदेनमा संलग्न भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई पक्राउ गरिसकेको प्रहरीले बिहीबार भुटानी नेतालाई पनि नियन्त्रणमा लिएको हो ।