काठमाडौं जेठ, २१–
गृहमन्त्रालयले नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृतहरुले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रहरी अधिकृतहरुले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई फसाउन खोजिएको दावी गरेको भोलिपल्ट यस्तो प्रतिक्रिया दिएको हो ।
गृहमन्त्रालयले अनुसन्धान कार्यका सम्बन्धमा एवं हाल सम्मानित अदालतमा विचारधिन अवस्थामा रहेका कतिपय संवेदनशील विषयमा केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिहरुप्रति गम्भिर ध्यानकषर्ण भएको जनाएको हो ।
सोमबार गृहमन्त्रालयले विज्ञप्ति मार्फत उक्त कुरा जनाएको हो । अभिव्यक्तिहरुबाट अनुसन्धानलाई प्रधावित पार्न सक्ने एवं अपराधीहरुको मनोबल बढ्न सक्ने देखिएको तर्फ नेपाल सरकार, गृहमन्त्रालय सचेत छ, त्यस प्रकारका भ्रामक धारणाहरु प्रति कुनै सत्यता नरहेको भनिएको छ ।
पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, पूर्व डीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले आइतबार ललितपुरमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको र गम्भिर अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।
गृहमन्त्रालयका सहसचिव ईश्वर पोडेलको छानविन समितिमाथि नै प्रश्न उठाउँदै उनीहरुले छुट्टै आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर सुन तस्करी र शाक्य हत्याको पुनः छानबिन गर्नुपर्ने माग गरेका थिए ।