काठमाडौँ – दाङको घोराही उपमहानगरपालिका–११ खैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.२ ख ३८१ नम्बरको ट्रकले लु.७३ प ११६२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल बिक (सुदन) को घटनास्थलमै र मोटरसाइकल चालक सोही उपमहानगरपालिका–११ खैरा बस्ने २६ वर्षीय सन्देश बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको मधुवन नगरपालिका–५ स्थित सडकमा ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे.१ क १८१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भाटको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।