काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरे । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७९’ र नेपाल मेडिकल जर्नलकोसमेत लोकार्पण गरे ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका पूर्व मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. काशीराम कुँवरलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरे । साथै उनले लुम्बिनी प्रदेश प्रहरी अस्पतालका भिजिटिङ कन्सल्टेन्ट डा. अशिम किद्धाईलाई कदरपत्र, लुम्बिनी प्रदेश प्रहरी अस्पताल र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत इमर्जेन्सी विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरे ।
सो अवसरमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्यालउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे । अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उहाँले अस्पतालबाट प्रवाह हुने सेवा प्रहरी कर्मचारीको मनोबलसँगसमेत गाँसिने भएकोले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारूहरूलाई निर्देशन दिए । अस्पतालमा आउने सेवाग्राहीको पृष्ठपोषणको आधारमा सेवा प्रवाह गर्न सकेमा अस्पतालप्रतिको छवि अझै राम्रो हुनेतर्फ उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकोले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको छवि उच्च गर्न र संगठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए । अस्पतालले प्रवाह गर्ने सेवालाई अझै उत्कृष्ट एवम् पारदर्शी रूपमा अगाडि बढाउँदै सेवाग्राहीले अनुभूति गर्ने गरी सेवा प्रदान गर्नसमेत अस्पताल प्रशासनलाई उनले निर्देशन दिए । कमि कमजोरीप्रति निर्मम रूपमा लागेर सेवा प्रवाहलाई नै प्रमुख दायित्व मानेर अगाडि बढेमा सेवाको गुणस्तरीय र अस्पतालप्रतिको छवि सुधार्न सकिने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पतालले प्रवाह गर्ने सेवा सुविधा समग्र सेवाग्राही र प्रहरी कार्यसम्पादनको मनोबलसँग जोडिने हुनाले सेवा प्रवाहमा संवेदनशील भई लाग्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै स्थापनाकालदेखि हालसम्म अस्पतालको विकास, विस्तार र श्रीवृद्धिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याञउनुहुने सम्पूर्ण अग्रज प्रहरी नेतृत्व वर्ग, अस्पतालका पूर्व प्रहरी कर्मचारीहरू तथा सम्बद्ध महानुभावहरूप्रति नेपाल प्रहरी अस्पताल परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।
अस्पतालबाट संचलान हुने शैक्षिक कार्यक्रममा प्रहरी कर्मचारीका सन्ततीलाई विशेष व्यवस्था गरिने हुनाले प्रहरी कर्मचारीहरूलाई सेवाप्रति उत्प्रेरित गराउन प्रभावकारी हुने चर्चा गर्दै प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आउँदो समयमा क्रमिक रूपमा अन्य विभिन्न प्राविधिक शैक्षिक कार्यक्रमहरू समेत संचालन हुने बताए । सीमित जनशक्ति र साधन स्रोतका साथ संचालनमा रहेका प्रदेश अस्पताललाई आवश्यक स्रोत साधन उपलब्ध गराई स्वास्थ्य उपचार सेवालाई विकेन्द्रीकृत बनाउन सकिएमा अस्पतालबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवा थप गुणस्तरीय र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूर्व प्रहरी कर्मचारी परिषद नेपालका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश श्रेष्ठ र नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्त राज कुँवरले शुभकामनासहित आ–आफ्नो मन्तव्य व्यक्त गरे । नेपाल प्रहरी अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गरेका थिए ।
समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।