काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुदैँछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेशन २७–२९ गतेसम्म जारी रहनेछ ।
नेपालगञ्जमा हुने महाधिवेसनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।
कार्यक्रमका लागि महासचिव शंकर पोखरेल, डा. राजन भट्टराई, युवा इन्चार्ज महेश बस्नेतलगायतका नेताहरू यसअघि नै नेपालगन्ज पुगिसकेका छन् ।
स्वागत लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सिँगारिएको छ, नगर र जिल्ला प्रवेश नाकाहरूमा स्वागत द्वार र झण्डा ब्यानरहरू लगाइएका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै, उपाध्यक्ष रामबहादुर थापा ९बादल०, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेता सहभागी हुने बताइएको छ ।
युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । वर्तमान महासचिव क्षितिज थेबेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल अध्यक्षका लागि आकांक्षी छन् ।