काठमाडौं जेठ, १५–
एमालेसँग पार्टी एकता गरेपछि तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पहिलोपटक एउटै मञ्चमा भेट भएको छ । मंगलबार ‘गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा पुगेका नेकपाका अध्यक्ष प्रचण्ड र देउवाबीच फेस टु फेस भेटघाटको अवसर जुरेको हो । रत्नपार्कको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ कि भन्ने चिन्ता नलिनुस्, हामी अधिनायकवाद ल्याउन मिलेका होइनौं । विचार मिल्नेहरु मिल्न सम्भव हुन्छ । विचार नमिल्नेसँग सहकार्य गर्छौं, हाम्रो कसैलाई पनि निषेध गर्ने नीति छैन । विश्व परिस्थितिले हामीले चाहेर पनि काँग्रेसलाई निषेध गर्न सक्दैनौं, गर्नु पनि हुँदैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाकै अघिल्तिर अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन ?’ हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’ गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’ ‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गिरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’
गएको जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनाइएको थियो । यो एकतालाई काँग्रेसका नेताहरुले अधिनायकबाद जन्मने खतराका रुपमा बुझिहरेका थिए ।
पार्टी एकताको १२ दिनपछि यि दुई नेताबीच फेस टु फेस पनि भयो । यसअघि सार्वजनिक कार्यक्रममै काँग्रेस नेताहरुले दुई पार्टी एकतापछि लगातारजसो एकताप्रति लक्षित गर्दै ओरोपका गोली नै बर्साउने गरेका थिए ।
गत आइतबार काँग्रेस निकट प्रेश युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेललगायतले नेकपा र उनीहरुको नेतृत्वमा बनेको सरकारको तीव्र आलोचना गर्दै अधिनायकबाद जन्मने खतरा रहेकाले त्यसको खवदारी काँग्रेसले गर्नुपर्ने धारणा राखेका थिए ।
प्रचण्डले सरकारमा बहुमत भएपनि राष्ट्रिय मुद्धामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताए । उनले भने, ‘जति–जति बेला कम्युनिष्ट र कांग्रेस मिलेका छौं, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुख पायो । भूकम्पपछि हामी मिल्यौं र संविधान बन्यो । २०४६ सालको आन्दोलन, २०६३ को जनआन्दोलन र गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्धा र हितमा हामी फेरि पनि मिल्नुको विकल्प छैन ।’
‘देशलाई एकतावद्ध गर्न मैले धेरै मेहेनत गरेको छु, मधेशमा समस्या थियो’ प्रचण्डले भने, ‘मैले सबैसँग सहकार्य गर्ने नीति लिएँ, देशमा चुनाव भयो । अहिले सबैले संविधानको अपनत्व लिने अवस्था आएको छ, यो साना दुखले भएको होइन ।’
त्यस्तै कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजित भए पनि काँग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउनु नै ठुलो उपलव्धी भएको र आफैं संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना कांग्रेसले नै पूरा गरेको दाबी गरे । उनले भने ‘पार्टीअनुकुलको नतिजा नआए पनि निर्वाचन सफतापूर्वक सम्पन्न भयो । यो कांग्रेसको ठूलो सफलता हो ।’
लोकतन्त्र व्यवहारमा उतारेमात्र नेकपालाई विश्वास गर्न सकिने देउवाको भनाई थियो ।
प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्छौँ तर’,सरकारले लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ । व्यवहारमा देखाउनुपर्छ ।’
कार्यक्रममा नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले संविधान सर्वस्वीकार्य भइसकेको दाबी गरे भने कांग्रेसका नेता कृष्ण सिटौलाले सबै जनताका हितमा हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताए ।