मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बारा २ मा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने

सोमबार, चैत्र २० २०७९

काठमाडौं । बारा २ मा उपनिर्वाचनका लागि नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार बन्ने भएका छन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो । जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेल पूर्वमन्त्री समेत हुन् । उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएका थिए ।

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको थियो ।

यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

यो उपनिर्वाचनमा बारा २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गर्न हेभिवेट उम्मेदवारहरु बारा २ केन्द्रीत भएपछि चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । बारा २ मा स्वतन्त्र उम्मेदवार समेत देखिनेछन् ।