काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा ‘क्लिनस्वीप’, अर्को चुनावमा दुई तिहाइ बहुमतका साथ सरकार बनाउने बताएका छन् ।
उनले शनिबार भएको पत्रकार सम्मेलनमा मार्फत यस्तो घोषणा गरेका हन् ।
पार्टीले चितवन–२ मा सभापति रवि लामिछाने, तनहुँ–१ मा अर्थविद् डा. स्वर्णित वाग्ले र बारा-२ मा पूर्वएआइजी रमेश खरेललाई टिकट दिएको छ ।
पत्रकार सम्मेलनमा तीनै उम्मेदवारले सम्बन्धित क्षेत्रमा आफूहरू विजयी हुने दाबी गरे । उपनिर्वाचन हुने तीन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गर्ने उनहरूको दाबी छ । सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि ‘तीन भाइ’ (तीनैजना) जितेर घण्टाघरमा विजय उत्सवमा पत्रकार सम्मेलन गर्ने समेत बताए ।
उनले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताए । उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ,’ उनले भने ।
लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने समेत बताए ।
लामिछानेले भने, ‘निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।’ लामिछानेले सरकारमा सहभागी हुने वा नहुने सन्दर्भमा रास्वपा अहिले निर्णयमा नगएको र नीति कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको हो भने सरकारमा सहभागी नहुने समेत स्पष्ट पारे ।
साथै उनले उपचुनाव पछि आफ्नो दलले समेत सरकारको नेतृत्व दावी गर्न सक्ने बताए । १० दलको पार्टीले एक दुई वर्षपछि सरकारको नेतृत्व गर्न मिल्ने भए आफ्नो दलले किन नमिल्ने भन्दै उनले प्रश्न गरे ।