काठमाडौं जेठ, ११–
संसदीय परिभाषाको शब्द लिने हो भने वर्तमान ओली सरकारले एक सय दिनको मधुमास पूरा गरेको छ । नेपालमा बहुदलीय व्यवस्था आए पश्चात सायद अहिलेको सरकारजतिको बलियो सरकार सायदै निर्माण भएका थिएनन् । गएको फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएको ओलीले यो एक सय दिनमा केही महत्वपूर्ण काममा सफल्ता पनि प्राप्त गरेका छन् । उनको सबैभन्दा देखिने काम भनेको यातायात क्षेत्रको सिण्डकेट तोडिएको बिषय नै रहेको छ । सरकारले सिन्डकेट त हटायो तर, त्यसपछि गर्नुपर्ने व्यवस्थापनमा चुकेको प्रष्ट देखिन्छ । अहिले पनि सर्वसाधारणले सार्वजनिक यातायातमा सहज सुबिधा पाउन सकेका छैनन् । सबैभन्दा ओली सरकारको अलोकप्रिय काम भनेको प्रधानमन्त्री भएको एकसय दिनमा चार पटक पेट्रोेलियम पदार्थको मूल्य बढाउन पुगेका छन् । अझैं पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी भैरहेको समाचार सार्वजनिक भएसँगै आम उपभोक्ता चिन्तित देखिन्छन् । ओली प्रधानमन्त्री हुँदा पेट्रोलको मूल्य १०४ रुपैयाँ थियो ।
यो मूल्य तत्कालिन देउवा सरकारले २०७४ माघ १८ गते समायोजन गरेको थियो । त्यतिबेला डिजेल र मट्टितेल प्रतिलिटर ८३ रुपैयाँ रहने गरी मूल्य समायोजन गरिएको थियो । ओली प्रधानमन्त्री भए लगत्तै सरकारले मूल्य समायोजन गर्दा डिजेल पेट्रोलको यथावत राखेर पेट्रोलमा एक रुपैंया घटेको थियो । आमनागरिकले ओली सरकारले अब केही राहत दिन्छकि भनेर सोचेका थिए तर, २०७४ चैत २० गते पेट्रोल र मट्टितेलमा प्रतिलिटर २÷२ रुपैयाँले बढ्यो ।
पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुग्यो भने मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम भयो ।
त्यसको एक महिना नपुग्दै फेरी मूल्य बृद्धि गरियो । २०७५ बैशाख ३ गते सरकारले उपभोक्तालाई पेट्रोलियम पदार्थको मूल्य बृद्धि उपहार दियो । पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँको मूल्य बृद्धि भयो ।
पछिल्लो पटकको मूल्य समायोजनपछि निगमको अर्धमासिक नाफा घाटा शुन्य रहने भनेको छ । मुल्य समायोजन नगर्दा भने मासिक करिब ३२ करोड घाटा हुने निगमले जनाएको छ ।
ओली सरकारको सय दिनसम्म आइपुग्दा चार पटक बढेको मूल्य बृद्धिले पेट्रोलमा ६ रुपैयाँ र मट्टितेल डिजेलमा ९ रुपैयाँ बढाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल मट्टितेलको प्रतिलिटर ९२ रुपैयाँ छ ।
पछिल्लो पटक जेठ २ गते मूल्य समायोजन भएको हो । नेपाल सरकार र निगम सञ्चालक समिति बिचको २०७१ सालको निर्णय बमोजिम स्वतः स्वचालित मूल्य संरचना कायम गर्दै आएको आयल निगमले जनाएको छ ।
पछिल्लो पटकको मूल्य समायोजनपछि निगमको अर्धमासिक नाफा घाटा शुन्य रहने भनेको छ । मुल्य समायोजन नगर्दा भने मासिक करिब ३२ करोड घाटा हुने निगमले जनाएको छ ।
स्वतः स्वचालित मूल्य संरचनाअनुसार निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य घटबढ गर्ने गरेको छ ।
उता, भारत सरकारले बिहिबार पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आफूले मूल्य समायोजन गरेको भारत सरकारले भारतीय सञ्चार माध्यममा भनेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा विशेष गरी भारतमा मुल्य बढ्ने बित्तिकै त्यसको सिधा असर नेपाली बजारमा पर्ने गरेको छ ।
इण्डियन आयल कर्पोरेसन लिमिटेडले नयाँ मूल्य आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्ने देखिएको छ ।