काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । इतर समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि तीन मन्त्रालयले आफ्नो समूहले पाउनु पर्ने दबाब बढाएको हो ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले प्रचण्ड सरकारमा आठ मन्त्रालय पाउँदैछ । कांग्रेसले अर्थसहितका ८ मन्त्रालय पाउने लगभाग निश्चित भइसकेको अवस्थामा ३ वटा मन्त्रालयमा शेखर–गगन समूहले दाबी गर्ने भएको छ ।
मन्त्री छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
उक्त बैठकअघि शेखर–गगन समूहका नेताहरू छुट्टै छलफलमा जुटिरहेका छन् । उनीहरूले तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने अडान पार्टी बैठकमा राख्ने बताइएको छ ।