बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकीकृत समाजवादीका अधिकांश सांसद मन्त्री बन्ने दौडमा

आइतबार, चैत्र १२ २०७९

काठमाडौं । सरकार विस्तारको गृहकार्य चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका माधव नेपालबाहेकका अधिकांश प्रत्यक्ष निर्वाचित सांसद मन्त्री बन्ने दौडमा छन् । नेकपा एससँग १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार रहेको स्रोतको दाबी छ ।

यद्यपि पहिलो चरणमा डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसले गरेको छ । सत्तारुढ दल एसबाट डा. भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । उनी राष्ट्रियसभा सदस्य हुन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एसका उनी महासचिवसमेत थिए । केही दिन अघि मात्र घनश्याम भुसाललाई महासचिव बनाइएको हो ।

नेकपा एसबाट सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । तर, यस अघि उनी मुख्यमन्त्री बनिसकेका कारण उनको मौका नहुनसक्ने बताइएको छ । नेकपा एसले गृहमन्त्रालयसहित अन्य दुई मालदार मन्त्रालयको दाबी गर्दै आएको छ ।

नेकपा एसबाट निर्वाचित सांसदमध्ये पार्टी विभाजनपछि धनबहादुर बुढाबाहेक सबै एक चरण मन्त्री बनिसकेका छन् । बुढालाई यो चरणमा नभए अर्को चरणमा मन्त्री बनाउने आश्वासन दिइएको छ ।

यी हुन् एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचित १० सांसद
माधवकुमार नेपाल
कृष्णकुमार श्रेष्ठ
राजेन्द्र पाण्डे
मेटमणि चौधरी
अम्मरबहादुर थापा
धनबहादुर बुढा
प्रकाश ज्वाला
भानुभक्त जोशी
प्रेमबहादुर आले
शेरबहादुर कुँवर