मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

आइतबार, चैत्र १२ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।
यसैगरि सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो ।

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले बताए । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराएका थिए ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफ गरेका थिए ।

गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ‘प्रचण्ड’ सँग भेट गरेका छन् । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको थियो । गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी छ भने अध्यक्ष नेपालले तीनवटामा दाबी गरेका छन् । साथै वागमती र कोशी प्रदेशको मुख्यमन्त्री एसको दाबी छ ।