काठमाडौं जेठ, ७–
नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको दुईवटा वाइडबडी विमान फ्रान्समा निर्माण सकिएर अन्तिम चरणमा रहँदासम्म पनि वायुसेवा क्षेत्रका माफियाले निगमले थोत्रा जहाज मर्मत गरेर ल्याउन लागेको हल्ला फैल्याइरहे ।
पोलिमर नोटको भ्रष्टाचार काण्डमा मुछिएका पूर्वगभर्नर डा. तिलक रावलका पुत्र विनय रावलसहितको एक ग्याङ छ नेपालमा, जसको मुख्य काम दलाली मात्रै गर्नु हो । दलाली गर्ने यो समूह आफैले पैसा निकाल्दैन । तर पैसा कमाउनका लागि दलाली गर्दै हिँडछ । विमान निर्माता कम्पनीहरुले संसारमा कतै पनि एजेन्ट राख्न छाडिसकेको छ । तर नेपालमा अहिले पनि आफूलाई विमान कम्पनीको एजेन्ट हुँ भन्दै यिनीहरु सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमलाई विमानरहित बनाउने प्रपञ्चमा लागिरहेका थिए ।
नेपालमा दुर्घटना भएको टर्किस एअरलाइन्सकै जस्ता जहाज किनेर मर्मत गरी नेपालमा ल्याउन लागिएको हल्ला यसबीच खुब फैलियो । यसो गर्नुको मूल कारण पनि नेपालमा स्वघोषित विमान एजेन्टहरु हुन् ।
अहिले यति एअर र बुद्ध एअरबाहेकले नेपाल एअरलाइन्सले चीनसँग किनेको मझौला विमानबारे नकारात्मक धारणा राख्दैनन् । किनभने त्यो जहाजको इञ्जिन सबै क्यानडाका हुन् । अर्थात सुरक्षामा विमान कमजोर छैनन् । तर चिनियाँ जहाज ‘मेड इन चाइना’ शैलीकै छन् भन्ने हल्ला बजारमा नियोजित रुपमा फैल्याइएको छ । केही दिन अघि एक कार्यक्रममा नेपाल एअरलाइन्सका एमडी सुगतरत्न कंशाकार भन्दै थिए, ‘चिनियाँ जहाज खरिद गर्न हुँदैन थियो, गरि त हालियो । अब पाइलट खोजेर नउडाई भएकै छैन । ’
जानकार स्रोतका अनुसार चिनियाँ जहाजकै कारण अहिलेसम्म निगमले २८ करोड घाटा ब्यहोरिसकेको छ । यो घाटा अझै बढ्नेवाला छ । चीनबाट किनिएका साना ट्वीनेटर साइजका जहाज पनि समस्यामै छन् । पहिलो त उडाउने चालक छैनन् । भए पनि कम छन् । चीनको विशाल रनवेमा उडाएर १८ यात्रु बोक्न सक्ने आँकलन गरेर जहाज ल्याइयो । अहिले पहाडका छोटा धावनमार्ग भएका विमानस्थलमा ती विमान २ जना मात्रै यात्रु बोकेर उड्नु पर्ने बाध्यतामा छन् । यस्तो त्रुटि त पहिलेकैले गरेका हुन् । तर यसको जवाफ अहिलेका एमडीले दिनु परेको छ ।
यस्तै मौका छोपेर नेपाल वायु सेवा निगमले भरसक नयाँ जहाज नै नकिनोस्, किने पनि आफ्नै माध्यमबाट किनोस् भन्ने गिरोहले दुई वटा वाइडबढी विमान नै ल्याउन नदिने प्रपञ्च गरेको थियो । जबकी फ्रान्सको टुलुस सहरमा रहेको एअरबस कम्पनीमा हालै नेपाल वायु सेवा निगमका एमडीसहितको टोली पुगेर निर्माण हुँदै गरेको विमान अवलोकन नै गरेर आयो ।
यति हुँदा हुँदै पनि विमान नै छैन भन्ने हल्ला फैल्याउने गिरोह अहिले पनि क्रियाशील छ । दुई वटा वाइड बडी मध्ये पहिलो यहि महिनाको अन्त्यसम्ममा नेपाल आइपुग्ने बताइएको छ । अर्को भने साउन भदौसम्ममा नेपाल आउनेछ । यी जहाजले अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।
निगमले जहाजका लागि ८ अर्ब रुपैयाँ किस्ता पठाएको थियो । त्यो रकम पठाएपछि निगमभित्रैका कर्मचारी संगठनका नेताहरुले हचुवाको भरमा पैसा पठाएको भन्दै कोकोहोलो मच्चाए । तर अब जहाज आउने निश्चित जस्तै भएपछि हल्ला गर्नेहरु आफै शान्त भएका छन् ।
निगमले ७३ चैत २५ गते अमेरिकी कम्पनी एआरआर कर्पोरेसनसँग विमान खरिद सम्झौता गरेको थियो । निगमले विमान खरिदको लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग समान १२ अर्ब रुपैयाँ ऋण लिएको छ ।
विमान आएपछि जापान कोरिया,अष्ट्रेलिया, सिंगापुर, ग्वान्जाउ उडान भर्ने निगमको तयारी छ । तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।