काठमाडौं । माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।
छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियाबाट हेरे पछि माओवादी घटकहरुले आपत्ति जनाउँदै आएका छन् । सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए । गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन् ।
सोही बिषयमा माओवादी पृष्ठभूमिका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।
उनीहरूले शान्ति प्रकिया भाँड्न खोजे चुप लागेर नबस्ने चेतावनी यसअघि नै दिइसकेका छन् । केही वर्षपहिले काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सव समारोहमा प्रचण्डले द्वन्द्वमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध सामूहिक नरसंहारको मुद्दा दर्ता भएको हो । सर्वोच्च अदालतले प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।