बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सङ्घीय निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन छिट्टै ल्याइने प्रधानमन्त्रीको प्रतिबद्धता

मंगलबार, फाल्गुन ३० २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा स्थानीय निकायसम्बद्ध सङ्घ तथा महासङ्घका प्रतिनिधिबाट व्यक्त गुनासोलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

केही राजनीतिक नेतृत्वसहित कर्मचारीतन्त्रबाट समेत सङ्घीयता कार्यान्वयनमा बाधा अवरोध सिर्जना हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताका हैसियतले संविधानको मर्म र भावनाबमोजिम स्थानीय निकायलाई अधिकार सम्पन्न गर्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।

जनभावनालाई सम्मान गर्दै स्थानीय जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप हुनेगरी अग्रगामी संविधान जारी गरेको स्मरण गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आवश्यक कानूनी व्यवस्थासहित प्रदेश तथा स्थानीय सरकारलाई सुदृढ र प्रभावकारी बनाई देशमा सुशासन, समाजिक न्याय, दिगो शान्ति, समृद्धि र स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९–०८० मा विभिन्न पाँच विधामा उत्कृष्ट हुने छ वटा नगरपालिकालाई सम्मानसहित पुरस्कृत गरको थिए।

यसैगरी आर्थिक विकासतर्फ उत्कृष्ट काम गर्ने सूर्योदय नगरपालिका इलाम र खैरहनी नगरपालिका चितवन, वन, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत र संस्थागत विकास, वित्तीय सुशासन र सेवा प्रवाहतर्फ धनगढी उपमहानगरपालिकालाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।