बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुर्घटनामा दुई बालकको ज्यान गयो

आइतबार, जेष्ठ ६ २०७५

दाङ जेठ, ६–
 दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । 
बालक बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए । 
ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी शनिबार राप्ती नदीमा डुबेर राप्ती गाउँपालिका वडा नं १को पुल्चोकका आठ वर्षीय बालक प्रदीप रोकाको मृत्यु भएको छ । 

आमासँग नदीमा लुगाधुन पुगेका बालक रोकाको आमा लुगाधुन व्यस्त भएको बेला नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । 

दिउँसो डुबेका रोकाको शव बेलुका प्रहरी र स्थानीयवासीको सक्रियतामा फेला पारेको थियो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । रासस