मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उपराष्ट्रपति निर्वाचन : सत्तारुढ गठबन्धनमा कुरा मिलेन, दुई दलका दुई उम्मेदवार

शनिबार, फाल्गुन २७ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनमा उपपराष्ट्रपति उम्मेदवार छनोटमा सहमति हुन सकेन ।  गठबन्धन आबद्ध दुई दलले आ-आफ्ना उम्मेदवार उठाउने भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले पनि दुई जनालाई नै उम्मेदवार बन्ने बाटो खोलि दिएको छ । जसअनुसार जनता समाजवादी पार्टी (जसपा) बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने भएका छन् ।

सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो ।

बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए । यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले भने असहमति जनाएका छन् । जसपाले आफ्नो तर्फबाट पनि उम्मेदवार उठाउने भएको छ ।

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ ।