बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

स्ववियु निर्वाचन : आज उम्मेदवार मनोनयन पत्र वितरण

शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।

गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजे देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ ।

त्रिविले आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।

त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । गत फागुन १९ गते निर्वाचनका लागि विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।