बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल कम्युनिष्ट पार्टीका नेताहरु केन्द्रीय सदस्य छान्न व्यस्त

शुक्रबार, जेष्ठ ४ २०७५

काठमाडौं जेठ, ४–
बिहिबार मात्रै एकिकरणबाट बनेको नयाँ नेपाल कम्युनिस्ट पार्टीले मातहतका कमिटिहरुलाई पनि पूर्णता दिने तयारी थालेको छ । सो पार्टीले  केन्द्रीय संरचनाले पूर्णता पाउनासाथ प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण अघि बढ्ने जनाएको छ । शुक्रबार दिनभरीमा तत्कालिन एमालेको तर्फबाट ४१ केन्द्रीय सदस्यको टुंगो लाग्नेछ ।

त्यस्तै, तत्कालिन माओवादीको तर्फबाट २०० सय केन्द्रीय सदस्य र १९ स्थायी कमिटी सदस्यको पनि  टुंगो लाग्न बाँकी नै छ । बिहीबार निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमा तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्यहरुले मात्र हस्ताक्षर गरेका छन् ।

सचिवालयमा पनि को आधिकारिक हो भन्ने अन्यौल बढेपछि हस्ताक्षर गर्ने ठाउँमै देव गुरुङले तत्कालिन माओवादीका कार्यालय सचिव प्रल्हाद बुढाथोकीलाई बोलाएर अनधिकृत व्यक्तिको हस्ताक्षर रोक्न निर्देशन दिएका थिए ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी टुंगो लागेपछि पोलिटव्यूरो गठन हुनेछ ।

पोलिटव्यूरो बढीमा १३५ सदस्यसम्मको हुनेछ । ९ सदस्यीय केन्द्रीय सचिवालय बनिसकेको छ ।

तल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रियाबारे तत्कालै प्रक्रिया अघि बढ्ने नेकपाका महासचिव विष्णु पौडेलले बताए । तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण गरिसक्ने योजनाअनुसार बिधि र मापदण्ड बनाएर कमिटीहरु एकीकरण हुने उनले जानकारी दिए ।

पार्टीको बिधान मस्यौदा कार्यादलले २९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दा माताहत कमिटीहरुको आकार पनि सोही अनुपातमा राखिएको थियो । तर, करीव डेढ सय बढी केन्द्रीय सदस्य हुने भएपछि अन्य कमिटीको आकार पनि ठूलो हुने भएको छ ।

यसअघि प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्युनतम ७५ सदस्यीय हुने भनिएको थियो ।

त्यस्तै महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय,नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने निर्णय भएको थियो ।

पार्टी एकीकरणपछि अब पूर्व पार्टीका माताहत कमिटी र जनवर्गीय संगठनहरु पनि स्वतः भंगको अवस्थामा पुगेका छन् । महासचिव पौडेलले अब सबै संगठनहरु एकीकरणको प्रक्रियामा जाने बताए ।