बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आइतबार, फाल्गुन २१ २०७९

काठमाडौं– धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियास्थित सडकमा प्र.२–०२–००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका–९ बस्ने ४५ वर्षीया कुमारी देवी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित सडकमा ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज.१० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय राम एकवाल ठाकुर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया सतो साह सुडी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा बागमती प्रदेश–०१–०२५ च २००७ नम्बरको पिकअप र प्र.२–०२–००१ ह ०३३३ नम्बरको टेम्पु एक–आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा टेम्पु चालक धनुषा मिथिला नगरपालिका–१० बस्ने ३४ वर्षीय दिपक स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटपस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय प्राविधिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।