बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

आइतबार, फाल्गुन २१ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

यसअघि माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाउँदै आएको थियो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा आफूहरू नरहेको बताएका थिए। उनले आलोपालो सरकारका लागि कांग्रेससँग लिखित प्रतिबद्धता माग गर्दै आएका थिए। तर, केन्द्रको सहमति अनुसार माओवादी शाहलाई विश्वासको मत दिन तयार भएको छ।

यता नागरिक उन्मुक्ति पार्टीले भने लिखित सहमति नभै विश्वासको मत नदिने अडान कायम राखेको छ ।

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ। सोही बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमालेका रावलले विश्वासको मत नपाएर राजीनामा दिएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका थिए।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि सुदूरपश्चिममा २७ मत आवश्यक हुन्छ। गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा काँग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। माओवादीका ११ प्रदेश सभा सदस्य छन्। एक जना स्वतन्त्र सांसदको पनि शाह नेतृत्वको सरकारलाई नै साथ छ।