मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

राष्ट्रपति निर्वाचन

८ दलको समर्थन जुटाएका रामचन्द्रलाई डरैडर, छैन अझै आफ्नैको भर

नेम्वाङले बढाए सकृयता

शुक्रबार, फाल्गुन १९ २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा दलीय र उम्मेदवारको दौडधुप तीव्र बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा दल र उम्मेदवारहरूले दौडधुप तीव्र पारेका हुन् ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवैले भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरूले दलीय र एकल भेटघाटलाई समेत तीव्रता दिएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेकाका पौडेल आठ दलीय गठबन्धनको समर्थन जुटाएपनि राष्ट्रपतिको निर्वाचन जित्नेमा सशंकित छन् । पौडेललाई अर्को दलको डर मात्र होइन कांग्रेस भित्रकै हिजो आफ्नै खेमामा रहेको समूहले विश्वासघात गर्नसक्ने भय उनलाई रहेको उनी निकट एक नेताले बताए ।

प्रधानमन्त्रीको चुनावमा १७ पटकसम्म पराजय बेहोरेका पौडेल बाहिरी दलको असहयोग हुने होकी भन्दा पनि बढी आफ्नै दलको केही व्यक्तिले खेल्नसक्ने हुन् की भन्ने भय भएको उनको भनाइ थियो । उनले भने, ‘रामचन्द्र दाइलाई कांग्रेस भित्रका संस्थापन पक्ष भन्दा पनि इतर पक्षको केही भय पक्कैछ, तरपनि उहाँले चुनाव जित्नेमा हामी ढुक्क छौं ।’

उनले लामो समूह आफैं गुट चलाएका पौडेलले गत महाधिवेशनमा क्याम्प छाडेका कारण रुष्ट बनेको समूहको मत पौडेललाई नआउनसक्ने शंका व्यक्त गरे । साथै उनले संस्थापन पक्षकै दोस्रो तहका केही नेताले पौडेललाई जिताउन नचाहने पो होकी भन्ने भय रामचन्द्रलाई रहेको उल्लेख गरे । त्यसमाथि झण्डै आफ्नै हाराहारीमा मतभार भएको एमाले अनि खुलेर अहिलेसम्म कता मत दिने भनेर निर्णय नगरेका अन्य दलको मत सुवासचन्द्र नेम्वाङलाई गए र आफ्नैले धोकाधडी गर्न सक्ने भयका कारण नामका ८ दल भएपनि मत कता जाने हो यसै भन्न नसकिने भयमा पौडेल रहेको बुझिएको छ । खुलेर समर्थन गरेका माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले सहयोग गरेपनि त्यसपछिका केही नेताले पौडेललाई समर्थन नगर्ने भएपनि पौडेललाई छ । एकीकृत समाजवादीकै झलनाथ खनालपक्षले मत नदेलाकी भन्ने आशंका पौडेललाई मात्र होइन स्वयम् माधव नेपाललाई पनि रहेको बुझिएको छ । खनालले घुमाउरो पारामा पौडेललाई समर्थन गर्न नसकिने बताएका समेत छन् ।

यसरी नै पौडेललाई जातिय भोट यताउता हुनसक्ने अर्को भय रहेको राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् । उनीहरुले त दलगत मात्र होइन जातिय रुपमा पनि मत विभाजन हुने भएका कारण भावी राष्ट्रपतिका रुपमा एमालेका नेम्वाङले बाजी मार्नसक्ने दाबी समेत गर्छन् । नेम्वाङ नै राष्ट्रपतिमा आउने उनीहरुको अर्को बलियो तर्क अन्तराष्ट्रिय सम्बन्धको कारण पनि रहेको छ । पौडेलभन्दा नेम्वाङसँग अन्तराष्ट्रिय सम्बन्ध बलिया रहेका कारण नेम्वाङले नै चुनाव जित्ने उनीहरुको तर्क छ ।

पौडेलले आफूलाई समर्थन गर्ने आठ दलका सांसदहरूलाई पत्र लेख्दै मत मागेका छन् । पौडेलले पनि यसअघि विभिन्न दलका शीर्ष नेताका घरमै पुगेर र पार्टी कार्यालयमा पुगेर मत मागेका थिए ।

नेम्वाङले बढाए सकृयता

बिहीबार मात्रै नेम्वाङले तीन पार्टीका कार्यालयमै पुगेर नेताहरूसँग भेटवार्ता र मत मागेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेका थिए ।

भेटमा उनसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल सहभागी थिए । भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा थिए । भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताएका थिए । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको स्मरण गराउँदै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको उनको भनाइ छ।

एकीकृत समाजवादीले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । तर, उक्त निर्णयमा पूर्वप्रधानमन्त्री समेत भइसकेका नेता झलनाथ खनाल त्यक्ति सन्तुष्ट नभएको एमाले ठम्याई छ ।

नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेको छ । बिहीबार एमाले प्रतिनिधि मण्डलले रास्वपा सभापति लामिछानेसँग भेट गरेर सहयोग गर्न आग्रह गरेको हो । रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई सहयोग गर्ने विश्वास रहेको एमाले सचिव योगेशकुमार भट्टराईले बताएका थिए । सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको उनको भनाइ छ । रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताए । आफूहरूले भने पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको उनले बताएका थिए ।

नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । बिहीबार पार्टीका नेताहरूसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन्। भेटघाटपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताएका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।