काठमाडौं जेठ, १–
एमाले माओवादी पार्टी एकता प्रक्रिया अवरुद्ध भैरहेकाबेला एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । यसअघि वरिष्ठ नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति बैठक बोलाउन आग्रह गरेका थिए ।
मंगलबार विहान च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको वार्तामा नेता नेपालले पार्टी एकता प्रक्रियाबारे निराशाजनक अवस्था अन्त्य गर्न प्रचण्डलाई आग्रह गरेका थिए । अनावश्यक आशंका पालेर एकता नटार्न समेत नेता नेपालले प्रचण्डलाई आग्रह गरेको स्रोतको दाबी छ ।
भेटमा प्रचण्डले ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बन्नुपर्ने बताएका थिए । एमाले नेता नेपालले भने दुई नेताबीचमात्र कुरा हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेको बुझिएको छ ।
दुवै नेताबीच निकै अन्तरंग कुराकानी भएको तर, दुबैपक्षले केही बताउन नचाहेको बुझिएको छ ।
पछिल्लो समय एमालेभित्र ओली र माधव नेपालबीच एकता देखिन थालेपछि प्रचण्ड थप सशंकित भएका छन् । हालै भएको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा सत्तारुढ दलको रुपमा छलफल नै नभएको तथा आफ्ना मन्त्रीहरुलाई सहभागिता नगराएको भन्दै माओवादीमा असन्तुष्टि छ ।
पछिल्लो घटनाक्रमले जेठको पहिलो साता गर्ने भनिएको एमाले–माओवादी एकता पनि लगभग टरेको स्रोतको दाबी छ ।
एमाले र माओवादी केन्द्रबीच यसअघि दुईपटक एकीकरण घोषणा गर्ने भनेर रोकिसकेको छ । पछिल्लो पटक जेठ पहिलो साता दुवै पार्टीबीच एकीकरण भएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने भनिएको थियो ।
तर, यो सम्भावना पनि टर्दै गएको छ । पार्टी एकता संयोजन समिति बैठक पनि अहिलेम्म तय भएको छैन ।