काठमाडौं वैशाख २५–
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको बेलायतको संसदीय टोलीसँग शिष्टचार भेटघाट सम्पन्न भएको छ । सो भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएको बताए । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको बताए । भेटका क्रमममा उनले लामो संक्रमणकालको अन्त्यपछि बनेको नयाँ संविधान र सोहीअनुसार निमार्ण भएका संरचना प्रतिनिधित्वमुलक र समावेशी भएको बताए । उनले नयाँ संविधानअनुसार बनेको राष्ट्रियसभा र प्रतिनिधिसभाले आफ्नो कार्य प्रारम्भ गरिसकेको जानकारी गराए । उनले स्थानीय, प्रदेश र केन्द्रसम्म नै प्रतिनिधित्व समावेशी रहेको बताउँदै समानतामुलक समाज निर्माणतर्फ देश अगाडि बढिसकेको बताए ।
‘स्थानीय, प्रदेशसँगै संघीय संसदमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ । राष्ट्रिय सभामा ५९ जना मध्ये २२ जना महिला रहेका छन् भने प्रतिनिधि सभामा २७५ जना सदस्य मध्ये ९० जना महिला सदस्य छन्,’ उनले भने ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा समावेशी दृष्टिकोणले सबैभन्दा अगाडि रहेको बताउँदै महिला, दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तको प्रतिनिधिमुलक संस्था भएको बेलायती प्रतिनिधमण्डललाई जानकारी दिए ।
प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धबारे छलफल भएको थियो । सो क्रममा उनले दुई देशका सरकारबीच औपचारिक सम्बन्ध स्थापित भएको दुईसय भन्दा बढी वर्ष भइसकेकोले सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए । उनले दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने धारणा राखे ।
बेलायत लोकतन्त्र र संसदीय अभ्यासमा पुरानो मुलुक भएकाले त्यहाँको अनुभव भर्खर मात्रै नयाँ संविधान जारी गरेर स्थिरता र विकासतर्फ उन्मुख नेपालका लागि लाभदायिक हुने विश्वास व्यक्त गरे ।
यसअघि संसदमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने जानकारी गराए ।