काठमाडौ वैशाख, २५–
एमाले माओवादी एकता अन्तिम चरणमा पुगेका समाचार सार्वजनिक भैरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित बनेका छन् । अध्यक्ष प्रचण्ड सोमबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सामाजिक सञ्जाल ट्वीटमार्फत सार्वजनिक अभिव्यक्तिका कारण असन्तुष्ट बनेका हुन् ।
सोमबार ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वीट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले उक्त ट्वीट आफुप्रति लक्षित रहेको बुझेका छन् ।
पछिल्लो समय पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीचको आक्रोश सतहमै देखिन थालेको हो ।
पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् ।
उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आएको हो । मंगलबार सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल गर्ने बताएका छन् ।
संसदीय दलको बैठकमा सहभागि एक नेताले बताए अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भन्दै सांसदहरुले वास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफू समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफूले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।
सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’
ओलीले ट्वीटमा कुन घटनालाई आधार बनाएर लेखेको भन्ने स्पष्ट थिएन ।
त्यस्तै, पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचार जस्तो प्रधानमन्त्री ओली र आफूबीच कुनै सहमति नभएको बताएका थिए । उनले आफूहरुबीच चारवटा विषयमा सहमति भयो भन्ने हल्ला आएकोमा कुनै सत्यता नरहेको भन्दै समानताकै आधारमा एकता गर्ने पक्षमा रहेको बताएका थिए । उनले त्यसबाट कुनै दायाँबायाँ हुदैन भन्दै यदि समानतालाई स्वीकार नगरिए एकता नहुने प्रष्ट पारेका थिए ।
यसअघि ओली र प्रचण्डबीच प्रधानमन्त्री, पार्टी अध्यक्षलगायतका विषयमा सहमति भएका खवरहरु आएका थिए । तर, ति खवरहरु पुर्णतया असत्य र कपोकल्पीत रहेको बैठकमा प्रचण्डले प्रष्ट पारेका थिए । त्यस्तै, बजेटबारे छलफल नगरिएकोमा समेत बैठकमा असन्तुष्टि जनाईएको थियो ।
माओवादी सांसदहरुले प्रधानमन्त्रीले मन्त्रीहरुसँग समेत कुनै छलफल नगरेकोप्रति आपत्ति जनाएका थिए ।
प्रचण्डले त्यस विषयमा समेत आजै प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै बजेट जनताको जिवनस्तरसँग मिल्ने बनाउन सुझाव दिने बताए । ‘जनताको अपेक्षा पुरा हुनेगरी बजेट ल्याउनुपर्छ, त्यो भएमात्रै बाम सरकारले ल्याएको बास्तविक बजेट हुन्छ । त्यसो भएन भने बाम सरकार र अरु सरकारमा कुनै भिन्नता हुदैन’ प्रचण्डको भनाई थियो ।