काठमाडौं वैशाख, १३–
गएको चैत ९ बाट सुरु नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पार्टी पदाधिकारी बेल्ने भएका छन् । हिजोसम्म पार्टीका केन्द्रीय सदस्यहरुले राखेको विभिन्न प्रश्नको आज पार्टी पदाधिकारीले जवाफ दिने भएका हुन् । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले आफ्नो धारणा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । संघीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गर्न शीघ्र महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा उठेका प्रश्नको नेतृत्वबाट जवाफ आउने बताईएको छ । युवा नेताहरुले विधान संशोधन हुनासाथ महाधिवेशन तोक्न माग गर्दै आएका छन् । निर्वाचन समिक्षा गर्न बसेको बैठक पछिल्लो समय महाधिबेशन र नेतृत्व परिवर्तनका बिषयमा केन्द्रित रहँदै आएको छ । हिजोसम्म ६६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । पदाधिकारी र केही पुर्व पदाधिकारीको सम्बोधन पछि आजै बैठक सकिने सम्भावना रहेको छ । बैठकको निर्णय लेख्न प्रवक्ता शर्मा सहित नविन्द्रराज जोशीसहितका नेतालाई जिम्मेबारी दिइएको छ । निर्णयमा आफुहरुको माग समेट्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्षले नेतृत्वमाथि तिव्र दबाब दिदै आएका छन् ।