काठमाडौं चैत, २५–
३३ किलो सुन प्रकरणको आरोपमा ठमेलस्थित होटेल मनाङका मालिक भुजुङ गुरुङ पक्राउ परेका छन् । सुन तस्करी र त्यसपछि भएको सनम शाक्यको हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । गत फागुन १८ गते रसुवा नाका हुँदै नेपाल भित्रिएको सुन भरियाले गायब गरेको अभियोगमा सुनसरीका सनम शाक्यको हत्या भएको थियो । तर, हत्यामा प्रहरीको पनि संलग्नता देखिएपछि उच्चस्तरीय छानबिन समिति बनाइएको थियो । छानबिन समितिको सिफारिस अनुसार अपराध अनुसन्धान महाशाखाका प्रमुख रहेका एसएसपी दिवेश लोहनीसहित तीन प्रहरी अधिकारीलाई आइतबारबाट प्रहरी हेडक्वार्टरमा तानिएको छ । सनम हत्या प्रकरणले सुन तस्करीको जालो विस्तारै खोल्दै लगेको छ । होटेल मनाङका मालिक भुजुङ गुरुङलाई हिरासतमा राखी अनुसन्धान गरेपछि थप रहस्य खुल्ने प्रहरीले विश्वास लिएको छ ।