काठमाडौं चैत, २२–
महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी ३३ किलो सुनकाण्डका भरिया सनम शाक्य हत्या र सुन गायव प्रकरणमा संलग्न भएको तथ्य खुलेपछि कारबाहीमा परेका छन् । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महाशाखाका प्रमुख लोहनीलाई कारबाही स्वरुप हेडक्वार्टर तानेको छ ।
गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार र बुधबार एसएसपी लोहनीको बयान लिएको थियो । छानबिन समितिले महाशाखाका प्रमुख लोहनीसँग पटक–पटक बयान लिएको हो । उनले कार्यक्षेत्र नाघ्दै धरान र बिराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथी छानबिन थालिएको थियो ।
अनुसन्धानका क्रममा दोषी भेटिएपछि लोहनीलाई सुरुमा हेडक्वार्टर झिकाइएको हो । यद्यपि, उनलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा छानविन समितिको निर्णय भने अझै आउन बाँकी छ ।
गृहमन्त्रालयले सुन काण्डमा एसएसपी लोहनीको भूमिका शंकास्पद देखिएपछि प्रहरी प्रधान कार्यालयलाई फिर्ता बोलाउन पत्र काटेको छ । बिहीबार मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठन भएको समितिले लोहोनीलाई फिर्ता बोलाउन पत्राचार गरेको हो ।
तस्करीको ३३ किलो सुन सम्बन्धि बिबादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भीष्म हुमागाई सदस्य थिए । फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिंगमा बरामद गरेको शाक्यको शवलाई दिउसो बिराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ ।
सो घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन् नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहदारहदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको छ ।
घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको अनुसन्धानमा खुलेको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर बिराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरूको दावी छ । कानुनत बारदात स्थल परिबर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइदैन ।