काठमाडौं चैत, २१–
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी एकता रोक्न चलखेल भएको बताए । अध्यक्ष प्रचण्डले भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेकाले सचेत हुन समेत आग्रह गरे ।
बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,’भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन ।’
उनले माओवादी सांसदहरुलाई सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्न भन्दै चलखेलबाट प्रभावित नहुन समेत निर्देशन दिए ।
अध्यक्ष प्रचण्डले एमाले–माओवादी पार्टी एकता सहज ढंगलले अघि बढिरहेको बताउँदै दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको समेत खुलासा गरे ।
‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको भन्दै प्रचण्डले हिजो मात्र आफूहरुले राजनीतिक प्रतिबेदन र बिधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेको जानकारी गराए । उनले भने, ‘दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’
केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको प्रचण्डको भनाई छ ।