काठमाडौं चैत, १८–
एमाले माओवादी एकताको पक्रिया जति लम्बिदैछ उति नयाँ नयाँ बिषयले प्रवेश पाईरहेका छन् । केही दिन पहिले माओवादी अध्यक्ष प्रचण्डले ‘फिप्टी फिप्टी’ को अबधारणा सार्वजनिक गरेसँगै तरंगित भएको एकता प्रक्रियामा पछिल्लो समय फेरि नयाँ प्रस्ताव सार्वजनिक भएको छ । माओवादी केन्द्रले पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्न प्रस्ताव गरेको छ । तर, माओवादी केन्द्रको सो प्रस्तावलाई एमालेले भने मान्न तयार भएको छैन ।
माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार पार्टी एकता हुँदा सबै नेता–कार्यकर्ताको व्यबस्थान गर्न असहज हुने भन्दै सबै कमिटीमा दुई अध्यक्ष राख्न प्रस्ताव अघि सारिएको छ । केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन गर्दा पार्टी एकतामा समानता हुन नसक्ने ठहर गर्दै माओवादी केन्दले उक्त प्रस्ताव अघि सारेको हो ।
तर, एमालेले भने सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने सो प्रस्ताव अस्विकार गरेको छ । एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव अघि सारेको छ । एमालेले पार्टी एकतामा संख्यामा समानताको सिद्धान्त लागु नहुने भन्दै बिचार, सिद्धान्त, दृष्टिकोण र नीतिमा समानता हुनुपर्ने बताउँदै आएको एमालेका एक नेताले बताए ।