काठमाडौं चैत, १५–
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको ६०/४० को दादागिरीले पार्टी एकता सम्भव नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले ५०/५० को हाराहारीमा मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बराबरी हैसियतमा नभए एकता असम्भब रहेको प्रष्ट पारे ।
एकताको नाममा एमालेले दादागिरी देखाएको खण्डमा ओली सरकारबाट बाहिरेने समेत प्रचण्डले चेतावनी दिएका छन् । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको बताईएको छ ।
मस्यौदामा दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टी चलाउने बताइएको छ । नयाँ बन्ने पार्टीको ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदामा भनिएको छ ।
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्ति’ शब्द उल्लेख गरिए पनि ‘जनयुद्ध’ शब्द के गर्ने भन्ने बारेमा ठूलो विवाद देखिएको छ । माओवदीका लागि जनयुद्ध शब्द घाँटीको घन्टी हो भने एमालेका लागि घाँडो बनेको छ ।
‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को अर्थ नरहने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नभई नहुने अडान कायमै राखेको छ । अर्को विवाद सूर्य कि सूर्यभित्र हँसिया–हथौडा भन्नेमा देखिएको छ ।
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान लिएका छन् भने एमाले नेताहरुले सूर्य चिह्न २०४८ देखि नै जनस्तरमा गएकाले यहि नै हुनुपर्ने जिकिर गरेका छन् ।
माओवादी केन्द्रले भने आफ्नो हँसिया हथौडा नछोड्ने अडान लिएको छ । यदि हसिया हथौडा र सूर्यले एकताको डोरीलाई क्षति पुग्ने हो भने सूर्यभित्र हँसिया–हथौडा कायम गरिनु पर्छ भनेको छ ।
दुई पार्टीको भागबन्डा अर्को बाधक बन्ने देखिएको छ । भागबन्डाको अनुपातमा ६०/४० भए यसैमा ठूलो विवाद मच्चिने जनइस्तरमा पनि चर्चा चलेको छ । यसलाइ सहज बनाउन ५०/५० कै अनुपातमा एकीकरण सहज हुने तर्क सर्वत्र भएको छ ।
समान अनुपातको भएन भने एकताको विषय नै बाम एकताका लागि घाँटिको हड्डी सावित हुने राजनैतिक वृतमा टिप्पणी गरिएको छ ।