बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिको सपथबारे सर्वोच्चमा सुनुवाइ

बुधबार, चैत्र १४ २०७४

१४ चैत, काठमाडौं–सर्वोच्च अदालतले तत्कालीन विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपति विद्या भण्डारीले सपथ लिएकोबारे सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ६५ वर्षको उमेर हद साउन २१ मा नै पार गरेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई गराएको सम्बन्ध शपथ असंवैधानिक भनेर परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि त्यस विषयमा सुनुवाइ हुने तय भएको हो ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीलाई राष्ट्रपति भण्डारीलाई उनले शपथ गराएकै दिन (फागुन ३० मा) साउन २१ मा नै उमेर हदले अवकास पाइसकेको पत्र बुझाएका थिए ।

 ‘संवैधानिक एवं कानुनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन’ खतिवडाको आदेशमा भनिएको छ । 

अवकाश पाइसकेका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई गराएको सपथ असंवैधानिक भएकाले संविधानबमोजिम पुनः शपथ गराउनुपर्ने जिकिर गर्दै अधिवक्ता नारायण खरेलद्वारा दायर रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । न्यायाधीश खतिवडाको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि सुनुवाइ भएपछि थप बहसको बाटो खुलेको हो । 

(कान्तिपुर दैनिक)