बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘तपाईंहरु पार्टी कब्जा गरेर बस्नुस देश बामले कब्जा गरिसके’–सिटौला

शनिबार, चैत्र १० २०७४

१० चैत, काठमाडौं–चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

सिटौलाले सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भएको तर्क गरे ।

‘हामी चुनावसम्म आइपुग्दा झन् बिग्रियौँ । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो । समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो,’ देउवासँगै पौडलको पनि गल्ती कोट्याउँदै उनले अगाडि भने, ‘राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो । पार्टीलाई क्षति गरायो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो । महन्थले हाम्रो सहयोगले जित्नुभयो, तर उहाँहरूकै कारण विमलेन्द्रजीले हार्नुभयो । हिजो नाकाबन्दी गर्नेहरू आज केपी ओलीजीका प्रिय भए । तर, हामीले नाकाबन्दीसमेत भन्ने आँट गरेनौँ । मैले व्यक्तिगत रूपमा नाकाबन्दी भनेँ, तर पार्टीले भन्न सकेन ।’

उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड विधानविपरीत गठन गरिएको भन्दै भंग गर्नुपर्ने माग गरे । यही तरिकाले नेतृत्व हिँडे पार्टी झन् सानो बन्ने उनको भनाइ थियो । ‘यही तरिकाले जानुभयो भने पार्टी झन् सानो–सानो बन्दै जान्छ र यही पार्टी तपाईं (सभापति)ले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ,’ सिटौलाले भने ।

पटक–पटक सरकारमा बस्ने अवसर पाएर पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको उनले बताए । उनले पटक–पटक अर्थमन्त्री बनेर पनि किसान, मजदुर र खाडी मुलुकमा जानेहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै रामशरण महतको पनि आलोचना गरे । ‘किसानका लागि, मजदुरका लागि, खाडी मुलुकमा जानेहरूका लागि कार्यक्रम ल्याउन सकेनौँ, अनि हामीलाई किन जनताले भोट दिने ? जनताले किन पत्याउने ?,’ सिटौलाले प्रश्न गरे । उनले विधानअनुसार पार्टी नहिँडे अराजकता मौलाउने बताए ।