काठमाडौं चैत, ९–
नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले यथाशीघ्र महाधिवेशन गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटि बैठकमा बोल्दै नेता सिटौलाले नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामान्तवादी व्यवहारका कारण कांग्रेसले चुनाव हारेको तर्क गरे । नेता सिटौलाले बैठकमा सभापति शेरबहादुर देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि आलोचना गरेका हुन् ।
तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, लोकतान्त्रिक गठबन्धन लगायतका विषयमा आफूले नेतृत्वलाई निरन्तर सचेत गराउदा समेत नेतृत्वले कुरा सुन्नै नचाहेको उनको आरोप थियो ।
नेता सिटौलाले देउवाले एकलौटी ढंगले निर्णय गर्नुका साथै टिकट वितरणमा मनोमानी गरेको आरोप लगाए ।
उनले अब शीघ्र महाधिवेशन गरेर परिर्वतनको सन्देश दिन सक्नुपर्ने प्रष्ट पारे । उनले भने, ‘होइन भने तपाईहरुले पार्टी त कब्जा गर्न सक्नुहोला तर, देश अरुले नै कब्जा गर्छन्’