काठमाडौं चैत, ७–
पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि बनेका छन् । जी.पी. कोईराला मेमोरियल (सामुदायिक) कलेजले स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा औपचारिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड प्रमुख अतिथि बनेका हुन् ।
शान्ति प्रक्रियाका नायक समेत मानिएका पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका नेता कोइरालाको २०६६ साल चैत ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार समेत मानिन्थे ।
स्वर्गीय कोइराला त्यस्तो पात्र हुन् जसले नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउन सफल भएका थिए । कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।
शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।
आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।