काठमाडौं फागुन, ३०–
निर्वाचन आयोगले चैत ९ गते उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेको छ । फागुन ३० गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको आयोगको बैठकले सो सो मिति तय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराए ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । यसै गरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ । २०७४ साल फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकोले उपराष्ट्रपति पदको लागि उल्लिखित लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्न, गराउन पाइनेछ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । चैत्र ९ गते शुक्रबार विहान १० वजे देखि अपरान्ह ३ वजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले उपर्राष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्न तयारी शुरु गरिसकेको आयोगका प्रवक्ता ढकालले जनाए ।