काठमाडौं फागुन, २७–
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्ने जनाएको छ । प्रमुख सत्ता घटक नेकपा एमालेले प्रधामन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग गरेको आग्रहप्रति नेपाली काँग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । एमाले नेता सुवास नेम्वाङका अनुसार कांग्रेस बाहेक सबै दलले सकारात्मक जवाफ दिएका छन् ।
आइतबार विहान नेम्वाङले कांग्रेससँग पनि वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको हो । एमालेका नेम्वाङ र कांग्रेस नेता मिनेन्द्र रिजालबीच भएको वार्तामा रिजालले यस्तो जानकारी दिएका हुन् ।
कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने देखिएको नेम्वाङको भनाई छ ।
आजै उनले नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलसँग पनि छलफल गरेका थिए । उता नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई देश बाहिर रहेकाले मतदानमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित रहेको एमालेको भनाई छ । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।
विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन ।