काठमाडौं पुस, २३–
काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । लगातार चिसो बढेपछि ८ बर्ष पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । गतबर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।
आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको. तापक्रम जुम्लापछिको कम हो ।
तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।
उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।
महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।
सबैभन्दा चिसो तापक्रम जुम्लामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान ८ः४५ बजे जुम्लाको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ ।