बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन सरकारबाट फिर्ता बोलाउदैछ लोकतान्त्रिक फोरमले जितेन्द्र देव र गोपाल दहितलाई ?

आइतबार, असोज ८ २०७४

काठमाडौं असोज, ८–
पर्यटनमन्त्री जितेन्द्र देव र भूमिसुधार मन्त्री गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने तयारीमा नेपाल लोकतान्त्रिक फोरम लागेको  छ । उनीहरुको काम सन्तोषजनक नभएकाले सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको फोरम निकट एक सदस्यले जनाए ।

शनिबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकमा देव र दहितलाई फिर्ता बोलाउनुपर्ने धारणा नेताहरुले राखेका थिए ।

उनीहरुमाथि आर्थिक चलखेल गरेको र पार्टीमा सल्लाह नगरी आफूखुसी निर्णय गरेको आरोप लागेको छ । पर्यटन मन्त्री जितेन्द्र देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई हटाएर अर्को व्यक्ति ल्याउन खोजेको र यसमा मोटो रकमको चलखेल भएको पार्टीका नेताहरुले बताउने गरेका छन् ।

बौद्धनाथ क्षेत्र विकास समिति र अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका राजनीतिक नियुक्तिमा पनि देवले घुस खाएको भन्दै पार्टीमा आलोचना भएको छ ।

यसैगरी भूमिसुधार मन्त्री गोपाल दहित दाङका प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक स्थानमा दुर्व्यवहार गरेपछि आलोचित छन् । साथै भूमाफियासँग चर्को रकम असुल्ने गरेको आरोप पनि उनकै पार्टीका नेताहरुले लगाएका छन् ।

गोपाल दहित थरुहट पार्टी परित्याग गरी हालै फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।

‘उहाँहरुले पार्टीसँग सल्लाह नगरी आफूखुसी गर्न थालेपछि फिर्ता बोलाउने माग उठेको हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग पनि सल्लाह र समन्वय नगरेको गुनासो आएको छ ।’