काठमाडौं । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।
एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्दै २५ गतेसम्मका लागि एमालले ‘ढोक्सा’ थापेको छ । माओवादीसहित आठ दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपनि एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको विषयले थप चर्चा पाएको छ ।
सरकारमा सामेल राप्रपाले भने समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय समेत गरेको अवस्थामा भावी राष्ट्रपतिको चुनावलाई मध्य नजर गरेर एमालेले समर्थन फिर्ता नगरेको हो ।
एमालले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार समेत गर्ने भएको छ । आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने । उनले हिजो मुख्यत तीन दलमा भएको निर्णयले पहिलाको सहमतिमा थोरै तलमाथि भएको मात्रै हो। पुस २५ गतेसम्म धेरै कुरा पाक्ने र अव एमाले त्यसमा लाग्ने समेत उनले बताए ।