१ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् । उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षण समेत गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्याघउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने उनले बताए । साथै उहाँले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा उनले व्यक्त गरे । प्रहरी महानिरीक्षक सिंहले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको चर्चा गर्दै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै थप मनोवल बढ्ने र कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना हुने भएकोले थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताए ।
उक्त अवसरमा प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपैयाँको लागतमा जम्मा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश सत्य मोहन जोशी थारु, प्रदेश सरकारका मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव, स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।