काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।
यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्।
रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् । एमालेबाट रवि लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो ।
‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ छलफल हुन सक्ने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त गरेका थिए। ‘मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना भएको छैन। सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।