काठमाडौं । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन् ।
शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराइन् ।
उनले यस पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।
रेशम चौधरी संरक्षक रहेको पार्टीमा प्रवेशले कलाकारहरूमा एउटा तरंग ल्याइदिएको छ । एलिजा पाँच वर्षअघि फिल्म ‘अनुराग’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।
धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । नागरिक उन्मुक्ति सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । यो उम्मेदवारीलाई रेशम चौधरी रिहाइका लागि दबाबका रूपमा हेरिएको छ ।