बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आगलागीमा पारी एक जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आइतबार, पुष २४ २०७९

काठमाडौँ – धनकुटाको धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चे बस्ने ८७ वर्षीया तारा देवी थापाको आफ्नै घर नजिकै आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर जल्दा शनिबार मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएकी उनको पारस अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ बस्ने पेमा खङदु शेर्पाको घरमा चुलोमा बालेको आगो सल्किएर शनिबार दिउँसो आगलागी हुँदा नगद १७ लाख रुपैयाँ, १५ तोला सुनको विभिन्न गरगहना, चाँदी ५०० तोला, लत्ताकपडा, अन्नपात लगायतका सामान समेत करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

संखुवासभाको खाँदबारी नगरपालिका–४ चिप्ले बस्ने पर्शुराम दर्जीको घर पछाडी राखेको परालमा आगो सल्किएर घरमा समेत शनिबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र लुगा सिलाउने मेसिन समेत करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी, संखुवासभा खाँदबारी नगरपालिका–४ भ्याङखोला देवीथान टोल बस्ने पवित्रा गुरुङको घरमा चुलोबाट आगो सल्किएर गएराति आगलागी हुँदा अन्नपात, काठपात, भाडावर्तन र हाते मिल समेत गरी करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरीको रामधुनी नगरपालिका–४ सुन्दरपुरस्थित एएमबी बाख्रा फर्ममा बिद्युतको लाईन सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका करिब १ सय ६० वटा खसी÷बाख्रा जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ सकरदही टोल बस्ने धनन्जय माझीको कुखुराको फर्ममा विद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेको कुखुरा र दाना समेत करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।